असार तेस्रो सातादेखि सुकुम्बासीहरुलाई लालपुर्जा वितरण हुने

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासीलाई आगामी असार तेस्रो साताबाट लालपुर्जा वितरण सुरु गर्ने बताउनुभएको छ ।

विगतका आयोगहरू राजनीतिक कारणले प्रभावकारी नभएको भन्दै उनले नयाँ संरचनाअनुसार सीडीओको नेतृत्वमा जिल्लास्तरबाट काम हुने जानकारी दिनुभयो । उहाँले ३० वर्षमा १२ लाख निवेदनमध्ये केवल ९ हजारले मात्र लालपुर्जा पाएको अवस्थालाई सुधार्ने बताउनुभयो।

सहकारी क्षेत्रमा राज्यकोषको पैसा प्रयोग नगरी समस्या समाधान भइरहेको र पछिल्ला ३ महिनामा १,४५२ बचतकर्ताको करिब ५९ लाख रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिनुभयो । साथै ३.५ करोडभन्दा बढी ऋण असुली भएको पनि बताउनुभयो ।

त्यसैगरी, पोषण कार्यक्रमका लागि स्थानीय तहको अवस्थाअनुसार बजेट छुट्याइएको, निजामती सेवा विधेयक प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।