दुई साताभित्र एसईई पूरक परीक्षाको नतिजा प्रकाशन गरिने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

आउँदो असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदै छ । एसईई–२०८२ को परीक्षाफल यसअघि एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आउँदो असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो ।

एसईईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा सहभागिता जनाउने विद्यार्थीको तथ्यांक प्राप्त भइनसकेको उहाँले उल्लेख गर्नुभयो ।

‘ग्रेड सी’भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।