स्वास्थ्य बीमाको दायरा ५ लाख बनाउने स्वास्थ्यमन्त्रीको प्रस्ताव

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तिमा ५ लाख बनाउने बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताउनु भएको छ ।

आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तिमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताउनु भएको छ ।

बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरि रियल टायम दावी प्रविष्टिका लागि सबै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने उनले बताए । हाल विद्यमान स्वास्थ्य कोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने उनको कार्ययोजनामा उल्लेख छ । मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने बताउनु भएको छ ।

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए । उनले सबै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको बताउनु भएको छ ।