एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना छानबिन गर्न सरकारले बनायो आयोग

काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको घटना छानबिन गर्न सरकारले आयोग गठन गरेको छ ।

बुधबार अपराह्न बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले लिकप्टर एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

सरकार प्रवक्ता गुरूङका अनुसार हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको उहाँले जानकारी दिनु भयो ।