सुनचाँदीको भन्सारदर घटाउन सरकार सकारात्मक
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदीको भन्सारदर घटाउन सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटमा मन्त्री पौडेलले भारतमा भन्सारदर घटेकाले त्यसको प्रभाव नेपालमा पारेकाले यस विषयमा सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसर नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सारदर घटाएर छ प्रतिशत कायम गर्दा त्यसको असर नेपालमा परेकाले तत्काल घटाउनुपर्ने बताउनुभयो ।
नेपालमा भन्सारदर २० प्रतिशत कायम रहेकाले व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सारदरलाई घटाई सुनमा आठ प्रतिशत र चाँदीमा छ प्रतिशत भन्सारदर कायम गरिनुपर्ने उहाँको भनाइ छ ।
बैङ्कले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान व्यवस्था अनुसार भन्सारदर भने दिनदिनै परिवर्तन भइरहने भएकाले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सारदर कायम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सोही अवसरमा अध्यक्ष रसाइलीले हाल विद्यमान सिफारिस सिस्टमलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने व्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैङ्कमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।
त्यस्तै उहाँले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा एक वर्षमा ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुने गरी सिजन र अफ सिजन अनुसार मिलाई वार्षिक रूपमा तोकिएको कोटाको सिलिङभित्र रही आयात गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।

