आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको विभागजे जनाएको छ ।
अहिले बिहान देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
राति देशभर आंशिकदेखी साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।