प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिनुभएको हो ।

२०२७ सालमै पानी जहाजको कानुन बने ता पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गर्नुभयो । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उहाँको भनाइ रहको छ ।

साथै, काठमाण्डौमा जमिनमुनी रेल चल्न सम्भव नभएकाले स्काइ रेल चलाउनुपर्ने र पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।