पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ ।

विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स  गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जोकोहीलाई अर्को पटक आफैँ आऊँ आऊँ लाग्ने बताउनुभयो ।

रियालिटी सोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगत्लाई चिनाउन थप मद्दत पुग्ने उल्लेख गर्दै उहाँले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने बताउनुभयो । नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उहाँको भनाइ थियो ।

प्रिमियर सोमा लुक्ला विमानस्थल एक खतरायुक्त विमानस्थलका रूपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिम प्राप्त र अनुभवी पाइलट मात्रै खटिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्नलायक हिमालहरू कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायत रहेको बताउनुभयो ।