साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

काठमाण्डौ । समयमा पानी परेका कारण यस पटक धान रोपाइँ समयमा सम्पन्न हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको छ ।

गत वर्ष यही यतिबेलासम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो ।यही हिसाबले रोपाइँ भयो भने साउन मसान्तभन्दा पहिले नै शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. बहादुर केसीले बताउनुभयो ।

उहाँले समयमा मनसुन सुरु भइ नियमित पानी परेका कारण समयमै रोपाइँ सम्पन्न भएको बताउनुभयो । त्यस्तै समयमा रोपाइँ सम्पन्न भयो भने उत्पादनमा पनि वृद्धि हुुनुका साथै गत वर्षभन्दा एक लाखदेखि डेढ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान कृषि मन्त्रालयको रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता केसीले ५० प्रतिशत रोपाइँ आकासे पानीबाट हुने गरेको छ । अरू बाँकी सिँचाइ नदीनाला तथा अन्य माध्यमबाट हुन्छ । अधिकांश स्थानमा रोपाइँ गर्न आकासे पानीकै भर पर्नुपर्ने अवस्था रहेको जानकारी गराउनुभयो ।

करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको कृषि मन्त्रालयले जनाएको छ ।