चार संसदीय समितिको बैठक आज बस्दै

काठमाण्डौ । संघीय संसद्का चार समितिको बैठक आज (बिहीबार) बस्दैछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजेका लागि बालाइएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुँने संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग छलफल हुँनेछ ।

दिउँसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग ‘संकल्प प्रस्ताव’ सम्बन्धमा छलफल हुँने संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाललाई बोलाइएको छ।