राष्ट्रिय खेलकुद परिषद्मा आजदेखि काभा महिला भलिबल शुरु हुँदै

काठमाण्डौ । नेपाल भलिबल सङ्घको आयोजनामा आजदेखि काभा महिला भलिबल लिग शुरु हुँदैछ छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा  साउन २३ गतेसम्म प्रतियोगिता चल्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगिताको पहिलो खेल नेपाल र श्रीलङ्का बिच हुनेछ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ ।

लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।