पेरिस ओलम्पिकमा एलेक्स शाहले राष्ट्रिय कीर्तिमानमा सुधार गरे

काठमाण्डौ । पेरिस ओलम्पिकको पुरुष सय मिटर फ्री–स्टाइल स्विमिङमा नेपालका एलेक्स शाह तेस्रो भएका छन् । आज भएको हिट–३ को प्रतिस्पर्धामा शाह तेस्रो भएका हुन् ।

सय मिटर फ्री-स्टाइलको हिट-३ मा उनले निर्धारित दुरी ५१ सेकेन्ड ९१ मिलिसेकेन्डमा पार गरे । ५१ सेकेन्ड २१ मिलिसेकेन्डमा दुरी पार गर्दै साउदी अरेबियाका जेद फैसल अलसराज पहिलो भए । ५१ सेकेन्ड ७७ मिलिसेकेन्डमा दुरी पार गरेका कोसोभाका अदेल सबोभिक दोस्रो भए ।

योसँगै एलेक्सले सय मिटर फ्री–स्टाइलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका छन् । गएको फेब्रुअरीमा कतारको दोहामा भएको विश्व च्याम्पियनशिपमा उनले ५२ सेकेन्ड १७ मिलिसेकेन्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

हिट्समा तेस्रो भए पनि एलेक्स अघिल्लो चरणमा प्रवेश गर्न भने सकेनन् । १० वटा हिट्सको प्रतिस्पर्धापछि उत्कृष्ट १६ जना खेलाडी अघिल्लो चरणमा पुग्ने नियम छ ।