इजरायल र हिजबुल्लाहबिचको युद्ध मध्यपूर्वमा फैलिने डर, संयमता अपनाउन आग्रह
तेल अभिभ । हिजो इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमण, हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको थियो। आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्।
इजरायलले गोलान हाइट्समा हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएको छ । तर हिजबुल्लाहले माजदल शम्सको ड्रुज सहरमा भएको रकेट आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ।
हिजो बिहान इजरायली सेनाले लेबनानभित्र हिजबुल्लाहका सात लक्ष्यहरूमा जवाफी आक्रमण गरेको बताएको छ। यस हमलामा कति जना घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
इजरायलको उत्तरी सिमानामा भएको यो आक्रमण अक्टोबर ७, २०२३ पछिको मृत्युको हिसाबले सबैभन्दा घातक थियो। आक्रमण लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका थिए । त्यसको केही घन्टापछि इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरयो।
गत अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि हिजबुल्लाहसँग तनाव बढ्दै गएको छ र त्यसको जवाफमा इजरायलले गाजामा निरन्तर सैन्य कारबाही गरिरहेको छ। इजरायल र हिजबुल्लाहबिच युद्धको खतरा लगातार बढिरहेको छ र यदि युद्ध भयो भने यो सम्पूर्ण मध्यपूर्वमा फैलिने डर छ।
यसैबिच विश्वका नेताहरूले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि आफ्नो अमेरिका भ्रमण चाँडै सकाएर स्वदेश फर्किएका छन् । नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा उनले मन्त्रिपरिषद्को बैठक बोलाउने बताइएको छ ।
इजरायलको कट्टर शत्रु इरानले हिजबुल्लाहलाई व्यापक रूपमा समर्थन गरेको छ।

