भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
काठमाण्डौ । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मोटरसाइकलको पछाडि बसेका एक जना घाइते भएका छन् । गएराति मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बाग्मती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलका चालक काभ्रेको मण्डनदेउपुर घर भई अहिले भक्तपुरको कमलबिनायक बस्ने २१ वर्षका सुवास तामाङको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइते तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
मोटरसाइकलको पछाडि बसेका काभ्रेको महाकाल गाउँपालिका–६ घर भई अहिले भक्तपुरको कमलबिनायक बस्ने २० वर्षका सञ्जिव थापामगर घाइते हुनुभएको छ । उहाँको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरका चालक राजकुमार राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

