प्रेस स्वतन्त्रताको सम्मान गर्दै अराजकता नियन्त्रण गछौँः सञ्चारमन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी एक वर्षभित्रै सञ्चार जगतका लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले शनिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको सूचना, प्रविधिको विकाससँग सामञ्जस्य हुने गरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने प्रस्ट गर्नुभयो ।
अनलाइन टेलिभिजन, अनलाइन मिडियाका नाममा केही विकृति रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सम्बोधन गरिने उल्लेख गर्नुभयो । सरकारको सुशासन र विकास, निर्माणका विधि र प्रक्रिया उही भए पनि अघिल्लो सरकारभन्दा कार्यशैलीमा परिवर्तन हुने उहाँले प्रस्ट पार्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले स्थिरता र जनतामा आशाको सञ्चार गर्न दुई ठुला दल मिलेको उल्लेख गर्नुभयो । अहिलेको गठबन्धनलाई असफल हुने छुट नभएको उहाँको भनाइ छ । अहिलेको सरकार असफल भए मूल धारका दलहरू असफल भएको अर्थ लाग्ने र सङ्घीयता र अहिलेको शासन व्यवस्थामाथि प्रश्न उठाउनेहरूलाई थप बल मिल्ने उहाँले औँल्याउनुभयो ।
सुशासनका लागि डिजिटल नेपाल जरुरी रहेको औँल्याउँदै उहाँले यसअघिका सरकारहरूले सङ्घीयताको मर्मअनुसार काम नगरेको जनाउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका उहाँले प्रदेश सरकारहरू औचित्य पुष्टि गर्ने गरी काम गर्नबाट चुनेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसबिच भएको सहमति अनुरूप संविधान संशोधनबारे छलफल गर्ने ढोका खुले पनि त्यो राष्ट्रिय सहमतिबिना सम्भव नहुने उहाँको भनाइ छ ।

