पेरिस ओलम्पिकको महिला फुटबलमा क्यानडा र फ्रान्स, अमेरिका र जर्मनी तथा ब्राजिल र स्पेन विजयी
३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलमा समूह ‘ए’ का क्यानडा र फ्रान्स विजयी भएका छन् । गएराति भएको खेलमा फ्रान्सले कोलम्बियालाई ३–२ गोलले हराएको भने न्युजिल्यान्ड क्यानडासँग २–१ ले पराजित भएको हो ।
हिजै भएको समूह ‘बी’ का खेलमा अमेरिका र जर्मनीले जितेका छन् । अमेरिकाले जाम्बियालाई तथा जर्मनीले अस्ट्रेलियालाई बराबर ३–१ गोलले हराएका हुन् । यसैगरी समूह ‘सी’ का खेलमा ब्राजिल र स्पेन विजयी भएका छन् । ब्राजिलले नाइजेरियालाई १–० गोलले हराउँदा जापान स्पेनसँग २–१ गोलले पराजित भएको हो ।
महिला फुटबलमा १२ वटा टोलीलाई तीन वटा समूहमा विभाजन गरिएको छ । यसैबीच, ओलम्पिकको उद्घाटन आज हुँदैछ । उद्घाटन कार्यक्रम आज भएपनि फुटबलसहितका केही खेल अस्तिदेखि नै शुरू भएका हुन् ।
ओलम्पिकमा २३ वर्षमुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

