सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ३ दलबीच सैद्धान्तिक सहमति

काठमाण्डौ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा तीन दलबीच सैद्धान्तिक सहमति भएको छ ।

गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा आज बसेको बैठकपछि कार्यदलका सदस्यहरूले आफूहरूबीच सैदान्तिक सहमति भएको र अब आउँदो सोमवार सरोकार राख्ने निकायहरूसँग छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनु भएको छ ।

कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सैद्धान्तिक सहमति भएको र व्यावहारिक रूपमा शब्दहरू के लेख्ने भन्नेमा सरोकारवालाको राय लिने बताउनुभयो ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा सम्मिलित कार्यदलले संसद्मा विचाराधीन टीआरसीसम्बन्धी ऐन संशोधनको मस्यौदामा सहमति हुन बाँकी मुद्दामा छलफल गरेर युद्धअपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म घटी सजाय गर्ने प्रावधान राख्न गएको मङ्गलबार नै सहमति गरेको थियो । गम्भीर मानव अधिकार उल्लङ्घन केलाई भन्ने भन्नेमा पनि उनीहरूबीच मङ्गलबार नै सहमति भएको थियो । जसअनुसार क्रूरतापूर्वक गरिएको हत्या र नियतपूर्वक गरिएको हत्यालाई ‘मानव अधिकारको गम्भीर उल्लङ्घन’ भनी परिभाषित गरिने भएको छ ।