लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन

काठमाण्डौ। लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उहाँको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।

पुर्ख्यौली घर धनकुटा भए पनि उहाँ लामो समयदेखि झापाको दमकमा बस्दै आउनु भएको थियो । साँझ खाना खाएपछि उहाँ अचानक बेहोस भएको परिवारले जनाएको छ । तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरुले उहाँलाई मृत घोषणा गरेका हुन् ।

जोशीले ०१३ सालमा रेडियो नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराउनु भएको थियो । त्यस्तै उहाँको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’, ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् ।

उहाँले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जित्नु भएको थियो । तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा सांगीतिक कार्यक्रम गर्ने उहाँ एक मात्र नेपाली गायक हुनुहुन्छ । पछिल्लो समय उहाँले ०६० मा लोकगीत संग्रह ‘अनावृत’ प्रकाशन गर्नु भएको थियो ।