त्रिविमा आगामी शैक्षिक सत्रदेखि ‘डेटा साइन्स’ र ‘एक्चुअरियल साइन्स’ को पढाइ हुने

काठमाण्डौ । विश्व बजारको मागअनुसार त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा, त्रिविले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा डेटा साइन्स र एक्चुअरियल साइन्सको पठनपाठन सुरु गर्ने घोषणा गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान गणित स्कुलले यी दुई नयाँ पाठ्यक्रमको अध्यापन सुरु गरेको हो । कार्यक्रम संयोजक उप–प्राध्यापक केशवराज फुलाराका अनुसार, विश्वमा आपूर्ति भन्दा माग धेरै भएका र आकर्षक कमाई हुने विषयहरू भएका कारणले यी विषयहरू सुरु गरिएको हो ।

उहाँका अनुसार भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न वातावरण नीति बनाउने विशेषज्ञ उत्पादन गर्न एक्चुअरियल साइन्सको मुख्य लक्ष्य हो । त्रिविले पहिलो पटक डेटा साइन्सको पठनपाठन स्नातक तहमा सुरु गर्ने तयारी गरेको छ, जसले तथ्यांक विश्लेषक विज्ञ नेपालमै उत्पादन गर्नेछ ।

फुलाराका अनुसार, नेपालमा बीमा कम्पनीहरूलाई समयमा प्रतिवेदन तयार गर्न र एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्न एक्चुअरीको अभाव खड्किएको छ । त्रिविले उत्पादन गरेको ८२ एक्चुअरीहरू सबै रोजगारमा छन् र भारत, अमेरिका, बेलायत लगायतका देशमा काम गरिरहेका छन् ।