दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : मन्त्री पौडेल
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ। बिहीवार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताउनुभयो । शवको पहिचान भएपनि म्याचिङ गर्न भने बाँकी छ । बिहीवार बेलुकासम्म सबैको शवको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको अस्पतालले जनाएको छ ।
उहाँले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि उल्लेख गर्नुभएको छ । यस्तै, पुराना र कण्डिसन बिग्रिएका जहाज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थलभित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहाज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ ।
मन्त्री पौडेलले दुर्घटनामा परेको जहाजको ’ब्ल्याक बक्स’ सुरक्षित रहेको जनाउँदै यसले वास्तविक कुरा पत्ता लगाउनमा मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने मन्त्री पौडेलको भनाइ छ ।

