हेटौँडाको भैरवरोडमा शंकास्पद अवस्थामा दम्पतीको शव फेला

काठमाण्डौ । हेटौँडा उपमहानगरपालिका– ५, भैरवरोडमा बुधबार शंकास्पद अवस्थामा दम्पतीको शव फेला परेको छ । प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी र ५६ वर्षीया अम्बिका भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।

अम्बिका धारिलो हतियार प्रयोगबाट हत्या गरिएको र केशव पंखामा झुन्डिएको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले घटना शंकास्पद रहेकाले अहिल्यै केही भन्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

उनले श्रीमान्ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको बताए । शाहका अनुसार एउटै कोठामा श्रीमतीको शव ओछ्यानमा लडेको अवस्थामा रहेको र श्रीमान् पंखा झुन्ड्याउने हुकमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।

श्रीमान्ले लगाएको कपडामा रगत लत्पतिएको पाइएकाले श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक शाहले बताए । घटनाबारे स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसएसपी सीताराम रिजालको कमान्डमा हेटौँडा अस्पतालबाट डाक्टरसहितको टोली अनुसन्धानमा खटिएको उनले जानकारी दिए ।