सौर्य एयरलाइन्स दुर्घटना : मृतक १८ जनाको शव परीक्षण सुरु, आज राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु गरिएको हो ।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले हिजो चारवटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उहाँले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गरिने बताउनुभयो । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ ।
यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ ।
आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकाअनुसार आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय गरेको छ ।
विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

