नेपालको राहदानीको विश्व वरियतामा सुधार

काठमाण्डौ। नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ ।

यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो । यस बर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ । यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शिर्ष स्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शिर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् ।

त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ ।त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ ।

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक(समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।