सुशासनका लागि हामी स्टन्ट गर्दैनौँ : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताउनुभएको हो ।
उहाँले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताउनुभयो । उहाँले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताउँदै नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडि बढ्ने नीति बनाउने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताउँदै सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताउनुभयो । उहाँले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउँदै वैकल्पिक स्रोतको परिचालन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउँदै सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताउँदै कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउनुभयो । उहाँले कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउँदै सरकारले यसबारे कदम उठाइसकेको बताउनुभयो ।
उहाँले सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी ठगि गर्नेलाई कारबाही गर्ने बताउँदै सुशासनका लागि स्टन्ट नगर्ने बताउनुभयो ।

