रास्वपा संसदीय दलको भोलि बस्ने भनिएको बैठक स्थगित
काठमाण्डौ । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको निर्धारित बैठक स्थगित गरिएको छ । भोलि आइतबार बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।
अर्को सूचना नगरिँदासम्मका निम्ति बैठक स्थगित गरिएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । “भोलि मिति २०८१ असार २३ गते बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी गराउँदछु,” शनिबार साँझ उहाँले जारी गर्नुंभएको सूचनामा उल्लेख छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता केन्द्रीय राजनीति तरंगित छ । वर्तमान सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । एमाले, जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।
रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।

