मेलम्ची खानेपानीलाई एडिबीले दुई अर्ब अनुदान दिने
काठमाण्डौ । एसियाली विकास बैंक एडिबी ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब ९१९।७५ मिलियन अमेरिकी डलर० बराबर अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताउनुभयो।
२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो।अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ।
सरकारले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्ने तयारी गरिरहँदा एडिबीले जलवायु परिवर्तनको असरसँग सम्बन्धित शीर्षकममा उक्त अनुदान रकम उपलब्ध गराउन लागेको हो। यसका अतिरिक्त एडिबीले नयाँ हेडवर्क्स, सुन्दरीजलमा ट्रिटमेन्ट प्लान्ट बनाउन ऋण सहायता उपलब्ध गराउने भएको छ।
अनुदान दिएको रकम पनि बाँध बनाउनै खर्च हुने सचिव आचार्यले जानकारी दिए। नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने खानेपानी मन्त्रालयको अनुमान छ।दुई वर्षअघि नै एडिबीले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो।
सरकारले सहमति जनाएसँगै आयोजनाले बाँध क्षेत्र सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ। आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ।

