मदन भण्डारी मेमोरियल कलेजमा ‘राणाकाल भोग्नेहरुबीच भलाकुसारी’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेज र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा “बलिदानलाई सम्झँदा राणाकाल भोग्नेहरुबीच भलाकुसारी” कार्यक्रम सम्पन्न भएको छ ।
कलेजको सभाहलमा आज (शुक्रबार) आयोजित भलाकुसारीमा विभिन्न सामाजिक एवम् राजनीतिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागीता रहेको थियो । उहाँहरुले नेपालमा राणा शासन विरुद्धको आफ्ना संघर्ष र भोगाइ साझा गर्नुभएको थियो ।
पूर्व नेता एवम् अभियन्ता बद्री प्रसाद खतिवडाले टंक प्रसाद आचाार्यलाई आफूले श्रद्धेय व्यक्तिकारुपमा आतमसाथ गरेको बताउनुभयो । साथै उहाँले आगामी निर्वाचनमा दुई किसिमले काम गर्नुपर्ने बताउनुभएको छ । “तीन वर्षमा आउने निर्वाचनमा दुइ किसिमले काम गनुपर्छ । ६० वर्ष नाघेका व्यक्तिहरुको नागरिक सल्लाहकार परिषद् गठन गर्ने र ६० वर्ष ननाघेका व्यक्तिहरु जोस जाँगरका साथ देश परिवर्तनमा सहभागी हुनुपर्छ”, उहाँले बताउनुभयो ।
वरिष्ठ चिकित्सक एवम् मानव अधिकारकर्मी डा.गौरी शंकर लाल दासले वर्गीय समाज रहेसम्म समाजवाद नआउने बताउनुभयो । उहाँले समाज परिवर्तन गर्न वर्गीय असमानता हटाउनुपर्ने बताउनुभएको हो ।
त्यस्तै, नेपालमा एम्नेस्टी इन्टरनेशनल (एआई) स्थापना गर्नुभएका अधिकारकर्मी नूतन थपलियाले पनि आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । उहाँले विगतमा जस्तै अहिले युवाहरु राजनीतिक गफ गर्न नरुचाउने बताउनुभयो । विद्यार्थी, वकिल, कर्मचारी, शिक्षकवर्ग सबैमा राजनीतिक गफ हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले वि.सं २०४६ सालको संविधानपछि नेपालमा धेरै सरकार परिवर्तन भएपनि देशले अझै आमूल परिवर्तन नदेखेको बताउनुभएको छ ।
यसैगरी, सहिद गंगालाल श्रेष्ठका कान्छा भाइ विजयलाल श्रेष्ठले राणाकालीन समयमा देशकालागि ज्यानको बलिदान दिएकाहरुको सम्झना गर्दै देशमा व्याप्त भ्रष्टचारले आफूलाई दुःखी बनाएको बताउनुभयो ।
वरिष्ठ पत्रकार तथा विष्लेषक प्रकाशप्रसाद आचार्यले नेतृत्वकारीहरुले आफूलाई कानूनभन्दा माथि भएको सोच्नु गलत भएको तर्क गर्नुभएको थियो । त्यस्तै, पूर्वमन्त्री तथा भारतका लागि निवर्तमान नेपाली राजदूत निलाम्बर आचार्यले युवाहरुलाई नेपालमै भविष्य छ भन्ने कुरा बोध गर्न जरुरी रहेको बताउनुभयो । उहाँले इतिहासका घटनाबाट प्ररित भइ वर्तमान अवस्थासंग जुध्न सबैलाई आह्वान गर्नुभयो ।

आजको भलाकुसारीमा मोहन चन्द्र अधिकारी, डा.विरेन्द्र मिश्र, केदारनाथ उपाध्याय, कृष्ण प्रसाद भण्डारी, अमरनाथ ढुङ्गाना, अरविन्द रिमाल, विश्वकान्त मैनाली, विश्वराज ढुङ्गानालगायतका व्यक्तित्वहरुले पनि आफ्ना विचार र अनुभव साझा गर्नुभएको थियो ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जीवित पुस्तकालयहरूको समूह, अर्थात् ज्येष्ठ नागरिकहरूबाट सिक्ने अपार अवसरहरू प्रदान गर्ने हुनाले कलेजले आगामी दिनमा पनि यस्तै अवसरहरू सिर्जना गर्ने मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै, छलफलमा सम्पूर्ण दिग्गजहरूको सक्रिय सहभागीताले शिक्षक, विद्यार्थी र अन्य सहभागीहरूलाई प्रेरित गरेको स्कूल अफ लिबरल आर्टसका प्रमुख रघु मैनालीले उल्लेख गर्नुभयो ।

