यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको बिदाइ
काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बङ्गलादेशमा हुने १९ वर्षमुनिको (यू-१९) महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको आज (सोमबार) बिदाइ गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गर्नुभएको हो । नेपाली टिमले बङ्गलादेशमा राम्रो नतिजा ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रबार देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।
प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उहाँको भनाइ छ । नेपालले पहिलो खेल फेब्रुअरी २ तारिख अर्थात आउँदो शुक्रबार बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।

