माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा, युवा संघले तीनकुनेमा विरोध प्रदर्शन गर्ने
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गर्नु भएको हो ।
नेकपा एमाले निकट युवा संघ मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी थियो । एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसको आधारमा सोमबारदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि युवा संघ नेपालले गर्ने विरोध प्रदर्शन तीनकुनेमा हुने भएको छ । युवा संघ नेपाल इन्चार्ज एवं एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै ७ गतेको कार्यक्रम तीनकुनेमा हुने जानकारी गराउनुभएको छ ।

