व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा चिनीको अभाव खड्कियो

काठमाण्डौ  । सरकारले केहि दिन अघि मात्रै बजारमा चिनी अभाव नहुने दाबी गरेपनि बजारमा अहिले चिनीको अभाव भएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेकोे दाबी गरेको थियो । तर, दाबी गरिएअनुसार न त चिनीको आयात हुन सकेको छ न कालोबजारी गर्नेलाई कुनै कारबाही नै भएको छ ।

व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाउन मुश्किल छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा समेत उपभोक्ताले चिनी नपाएको गुनासो गरेका छन् ।

अहिले थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभइ खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ ठाउँमा सञ्चालित सुपथ मूल्य पसलमा पनि चिनी सकिएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेपछि चिनी ल्याएर बेच्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । अहिले साल्ट ट्रेडिङसँग झण्डै चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताउनुभयो । दशैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उहाँको भनाइ छ ।

सोमबार सार्वजनिक लेखा समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो । चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवैजनाले लेखा समितिमा जवाफ दिनुभएको थियो ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएको थियो । तर त्यसो गर्दापनि बजारमा चिनीको अभाव खड्किएको हो ।