एसिया कपमा सहभागी खेलाडीलाइ पूर्वराष्ट्रपति भण्डारीद्वारा बधाई तथा शुभकामना व्यक्त

काठमाण्डौ ।  एसिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट खेलाडीहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तान र श्रीलङ्कामा जारी एसिया कपमा नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै उहाँले नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभएको छ । भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेटलगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको समेत बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेट प्रेमीहरूको मन जित्न सफल भएको बताउनु भएको छ ।

उहाँले मलेसियामा सञ्चालन भइरहेको टी-ट्वान्टी महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा सफलताको कामना गर्दै नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको छ ।

क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्ने भन्दै उहाँले विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।