लुम्बिनीमा रोक्का जग्गा फुकुवा नभए आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी
काठमाण्डौ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको रोक्का भएको जग्गा भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् ।
संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्काले राप्ती उपत्यकामा ३ वर्षदेखि रोक्का रहेको जग्गा फुकुवा गर्नुपर्ने संघर्ष समितिको अडान रहेको बताउनुभयो ।
तत्कालीन शंकर पोख्रेल नेतृत्वको पाँच नम्बर प्रदेश सरकारले २०७७ असोज १६ गते देखि राजधानी क्षेत्रको जग्गा अनिश्चितकालका लागि भन्दै रोक्का गरेको थियो । देउखुरीको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी घोषणाको तयारी गरेपछि सरकारले राजधानी कायम हुने क्षेत्रको सबै जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।
राजधानी क्षेत्रमा जग्गा कारोबारीहरु सल्बलाउने र जग्गाको अनावश्यक कित्ताकाट हुने भन्दै सरकारले राजधानीको क्षेत्र तोकिएका राप्ती गाउँपालिकाका–९ वटै वडा, गढवा गाउँपालिकाका–१,२ र ३ नम्बर वडा तथा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ र ९ नम्बर वडाका जग्गा रोक्का गरेको थियो । तर तीन वर्ष पुग्नै लाग्दा समेत सरकारले स्थानीयको जग्गा अझै आफ्नो अधीनमा राखेको छ । जग्गा फुकुवा नभएकै कारण राजधानी क्षेत्रका जग्गाधनीहरुले समस्या भोग्नु परिरहेको छ ।
संघर्ष समितिले माग सम्बोधन नभए भदौ २१ गते प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने कार्यक्रम समेत अघि सारेको छ ।

