कोरिया रोजगारीप्रति नेपाली युवाको बढ्दो आकर्षण संगै चुनौति

अहिले सबैतिर चर्चा रहेको विषय हो यसवर्ष पर्यो अहिलेसम्मकै धेरै आवेदन ।
यसो त त्रिभुवन विमान स्थलबाट दिनहुँ जसो सयौँको सङ्ख्यामा नेपालीहरू कुनै कुनै तरिकाबाट विदेश गइरहेका छन् । त्रिभुवन विमानस्थलको दृष्य देख्दा यस्तो लाग्छ नेपालमा भएभरका मान्छे विदेश गइरहेका छन् । बढ्दो बेरोजगारी समस्या, नेपालको अस्थिर सरकार, भ्रष्ट राजनीतिक चरित्र, र हरेक क्षेत्रमा राजनीतिकरण भएकोले युवा पुस्ता विदेश पलायन हुने क्रम बढ्दो छ ।


अर्को महत्वपूर्ण कुरा त नेपालमा बसेर केही हुन्न भन्न भाष्य निमार्ण भएको छ । सबै क्षेत्रमा व्यथितवर्षौ देखि फेलियर नेतृत्व नै सत्ता वरिपरि र उनीहरूकै हालिमुहालीले गर्दा पनि विशेषत नयाँ पुस्ता यो देशमा बस्न नचाहेको प्रस्टै छ । बिकसित मुलुकले गरेको प्रगति र त्यहाँको जनजीवनले पनि नेपालीहरूलाई आकर्षण गरिहेको छ । अर्को तर्फ नेपालमा पढ्दै कमाउने गर्न त्यति सहज पनि छैन । यि र यस्तै कारणले पनि नेपालीहरू विदेश पलायन हुने क्रम बढ्दो छ ।

यस्तो अवस्थामा पछिल्लो वर्षहरुमा रोजगारका लागि राम्रो गन्तव्य बनेको मुलुक हो दक्षिण कोरिया । वैदेशिक रोजगार विभागको ईपीएस शाखाकाअनुसार कोरिया जान हालसम्मकै सबैभन्दा धेरै इच्छुक देखिएका छन् । कोरियाको उत्पादनमूलक क्षेत्रमा जान चाहने आकाङ्क्षीहरूलाई पुस २ गतेदेखि ६ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन विभागले समय तोकेको थियो ।

दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५ हजार विदेशी श्रमिक लिने घोषणा हालसालै गरेको छ । उसले नेपालसहित १६ देशबाट सो सङ्ख्यामा कामदार लैजानेछ । निर्धारित सङ्ख्यामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी श्रमिक जान पाउनेछन् । उत्पादनमूलक क्षेत्रका लागि ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रका लागि १६ हजार जनालाई लगिनेछ । त्यसैगरी सिप बिल्डिङमा ५ हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रका लागि १३ हजार र अन्य आवश्यक क्षेत्रका लागि ३० हजार जना श्रमिक लैजाने कोरिया सरकारको योजना छ ।

यसवर्ष पर्यो अहिलेसम्मकै धेरै आवेदन

कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आए यताकै उच्च आवेदन परेको इपिएस शाखाले उल्लेख गरेको छ ।
कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन् ।

यसपटक १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताउनु भएको छ । पुस २ गतेदेखि ६ गतेसम्म इपिएसको लागि फारम खुला भएको थियो । अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीको भनाई छ । अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरु भएको थियो ।

गत साउनमा पानी जहाज निर्माणसम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका उच्च अदालतमा यो निर्णय विरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो । यसको अर्थ उत्पादनमूलक क्षेत्रमा जानका लागि कोरियाली भाषा परीक्षा दिन चाहने आकाङ्क्षीको सङ्ख्या अझ थपिने  छ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो ।

कोरिया रोजगारीप्रति नेपाली युवा आकर्षण किन बढ्दो छ त ?

छोटो समयमा तिब्र विकास गरि उदाहरणिय बनेको दक्षिण कोरिया नेपालीका लागि वैदेशीक रोजगारीको आकर्षक मुलुक हो । राम्रो तलब र सुविधाले वैदेशिक रोजगारीमा कोरियाको आकर्षण बढ्दो छ ।
कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङमा कामदार लैजाँदै गरेकोमा अब निर्माण र सेवामा पनि लैजान खोजिरहेको छ । कोरियाले उत्पादनमूलक क्षेत्रका लागि भनेर लैजाने कामदार साना तथा मझौला उद्योगमा काम गर्नेछन् ।

उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकको हकमा खासै शैक्षिक योग्यतापनि चाँहिदैन । शैक्षिक योग्यता नचाहिने भएर पनि यसपालि भाषा परीक्षाका लागि ठूलो सङ्ख्यामा युवाहरूले आवेदन दिएको विभागको ठम्याइ छ । बस् कोरियाले लिने भाषा परिक्षामा उत्तिर्ण भएपुग्छ । खाडी मुलुक तथा मलेसिया जाने कामदारले जस्तो दुःख तथा पीडा भोग्नु नपर्ने हुँदा कोरियाका लागि आकर्षण बढ्दो छ । कामदारले भनेअनुसारकै सेवासुविधा र तलब पाउने हुँदा कोरिया राम्रो गन्तव्य बनेको छ । सरकारले नै पठाउने हुँदा ठगी पनि नहुने सकारात्मक पक्ष हो ।

खाडी तथा मलेसिया जाने कामदार ठगिने क्रम बढ्दो छ । म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा बढी रकम असुलेर यी देशमा कामदार पठाइरहेका छन् । फ्री भिसा तथा टिकटमा खाडी मुलुक तथा मलेसिया कामदार पठाउने सरकारी निर्णयका विरुद्ध मेनपावर कम्पनीले अहिले पनि एकदेखि दुई लाखसम्म रकम असुली रहेका छन् । तर, कोरिया जाने कामदारले अहिलेसम्म त्यस्तो कुनै पीडा भोग्न नपरेको शाखाको भनाइ छ । यसरी कोरिया जाने नेपालीको सङ्ख्या बढ्दो क्रममा रहेको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन् ।

सन् २०२३ मा मात्रै २० हजार जनाभन्दा धेरै कोरिया गएका छन् । सन् २०२४ मा २५ हजारभन्दा बढी नै कोरियाना जाने विभागले आँकलन गरेको छ । कोरियाको रोजगारीप्रति नेपाली युवाहरूको आकर्षण बढ्दै जानुमा प्रमुख कारण सस्तो लगानीमा आकर्षक तलब हुने हुुदाँ पनि हो । खासगरी खाडी मुलुकहरूमा त्यति “आकर्षक तलब” नभएको स्वयं सरकारी अधिकारीहरू पनि स्वीकार्छन् । तर कोरियामा चाहिँ नेपाली कामदारले तुलनात्मक रूपमा “राम्रो तलब” पाउने गरेका छन् ।

नेपालले सन् २००८ देखि जीटूजी अर्थात् सरकार–सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट नेपाली कामदारहरू कोरिया पठाउँदै आएको छ । “जीटूजी भएकोले कामदारहरू ठगी र शोषणमा पर्ने सम्भावना न्यून हुन्छ,” यसले गर्दा पनि नेपाली युवामा बढ्दो आकर्षण छ । जीटूजी सम्झौताअन्तर्गत जान पाइने भएकोले कामदारमा विश्वास पनि कायम भएको छ । कोरियाबाट राम्रो पैसा मात्र हैन त्यहाँबाट नेपाली कामदारहरू सीप पनि सिकेर आउँछन् ।

साथै यसले गर्दा पछिल्ला केहि वर्षयता दक्षिण कोरिया पनि नेपाली विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रोजगारीका लागि दक्षिण कोरिया एउटा मुख्य गन्तव्य बनिरहेको अवस्थामा विद्यार्थीहरुको पनि आकर्षण बढिरहेको छ । अध्ययनसँगै काम गरेर राम्रो कमाई हुने भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाइएको छ । अन्य युरोपियन मुलुकको तुलनामा दक्षिण कोरियामा अध्ययन गर्न सस्तो रहेको र कमाई पनि राम्रो हुने भएकाले विद्यार्थीहरुको समेत आकर्षण बढेको जानकारहरुले बताउदै आएका छन् ।

कोरिया रोजगारीप्रति आकर्षण संगै चुनौति पनि

कम लागत तर आम्दानी राम्रो हुने भएकाले कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेका छ । कोरियामा गएर राम्रो कमाई गर्ने र आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउने चाहना त पक्कै पनि हुन्छ नै तर कोरियामा रोजगारीको लागि जान त्यति सजिलो पनि पक्कै छैन ।


दक्षिण कोरिया जान चाहने कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषा हो । हरेक वर्ष तोकिने कोटा पूरा गर्ने मुख्य आधार भनेको भाषासम्बन्धी परीक्षा नै हो । उक्त परीक्षामा कसले कति अङ्क ल्यायो भन्दा पनि माग भएको कुल सङ्ख्यामा आफूले प्राप्त गरेको अङ्क पुग्यो वा पुगेन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसले गर्दा कोरिया जान कोरियन भाषा जान्न जरुरी छ ।

भाषासँगै सीप पनि सिक्न जरुरी छ । भाषा परीक्षा पास गरेका परीक्षार्थीको सीप परीक्षण हुन्छ र सीप परीक्षणमा पनि नाम निकाले पछि ती युवायुवतीको नामावली रोस्टर सूचीमा राखिन्छ । अनि कोरियाका रोजगारदाताले त्यही रोस्टरबाट कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता कामदार कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका कामदारको नाम रोस्टर सूचीबाट हट्छ ।

त्यस्तै अर्को महत्त्वपूर्ण कुरा भनेको शारीरिक अवस्था र स्वास्थ्य अवस्था ठिक हुनु पनि हो । यस्तो परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ । शरीरको पूर्ण जाँच गर्नुपर्ने हुन्छ । कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुनः एक पटक सरुवा रोग लगायतको जाँच गरिन्छ । “उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाइन्छ । यसरी यि सबै कुरा पार गरेर त्यहाँ पुगेपछि पनि त्यति सहज पक्कै हुदैन । त्यहाँको नियम कानुन काम गर्ने तौर तरिका नबुझ्दा सम्म नेपाली कामदारहरूलाई समस्या पर्ने गर्दछ ।

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येक वर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीका लागि कोरिया जाने युवा अन्य देशमा जाने भन्दा शिक्षित वर्गका छन् । पछिल्लो समय एसएलसीदेखि एमए पास गरेका युवाको रोजाइमा कोरिया लगायत अन्य देश परेको छ । शिक्षित तथा दक्ष युवा कामका लागि विदेश पलायन हुने संख्या बढ्दै जाँदा देशभित्रै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनुपर्ने अवस्था छ ।


देश विकास गर्ने जनशक्ति भनेको जोस, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकाल्पनिक रूपले घट्दै गएको छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि यहाँ कामदार नै छैनन् । विशेषगरि पहाडी क्षेत्रमा काम गर्न सक्ने युवाहरू नै छैनन् । यसले देश ठुलो समस्यामा पर्दै छ । अत जिम्मेवार निकाय समयमै सजग बनोस् ।  – बिष्णु खनाल