नेपालमा पहिलोपटक हाइड्रोजनबाट गाडी सञ्चालनमा
काठमाण्डौ । नेपालमा पहिलोपटक हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको छ ।
काठमाण्डौ विश्वविद्यालय (केयू)को ग्रीन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलको स्टेसनबाट ग्रीन हाइड्रोजन उत्पादन गरेर कार चलाइएको हो । आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेशन बनाएर हाइड्रोजन इञ्जिनयुक्त कारमा हिजो हरित हाइड्रोजन भरेर गुडाइएको केयूले जनाएको छ ।
केयूले नेपालमा हरित हाइड्रोजनबारे अध्ययन तथा परीक्षण गर्नको लागि आफ्नै प्रविधिमा स्टेशन बनाएको हो । केयूका अनुसार अनुसन्धानका लागि आफ्नै आधारभूत डिजाइनको हाइड्रोजन कार गएको मंसिरमा कोरियाबाट ल्याइएको थियो । यसअघि केयूले प्रयोगशालामा प्रयोग गर्नको लागि थोरै हाइड्रोजन उत्पादन गरे पनि इन्धनका रूपमा उत्पादन गरेको थिएन ।
केयूको हाइड्रोजन ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाका अनुसार नेपालमा हाइड्रोजनको उत्पादनको लागि महत्त्वपूर्ण काम भएको छ, अब यसकै आधारमा निजी क्षेत्र तथा सरकारले व्यावसायिक स्टेसन बनाउन सक्छन् । विश्व बजारमा ग्रीन हाइड्रोजन नयाँ उर्जा हो । यसलाई शतप्रतिशत स्वच्छ उर्जा मानिन्छ । नेपालमा भने यो नयाँ प्रविधि हो । यस प्रविधिमा बिजुलीको माध्यमबाट पानीलाई टुक्राएर हाइड्रोजन उत्पादन गरिन्छ ।
विज्ञानको भाषामा इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन छुट्याइन्छ । यसरी उत्पादन भएको हाइड्रोजन दुईं दिनसम्म भण्डारण गर्न सकिन्छ । धुलिखेलमा रहेको केयूको स्टेशनमा अहिले दैनिक दुईं किलो हाइड्रोजन उत्पादन हुन्छ । यति इन्धनबाट एउटा कार दुईंसय किलोमिटर गुड्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
नेपालमा प्रशस्त मात्रामा पानी भएको र बिद्युत उत्पादन पनि बढ्दै गएकाले ग्रीन हाइड्रोजनको उत्पादन सम्भव भएको विज्ञहरुको भनाइ छ ।