‘जबज’ले जनताको सर्वाङ्गीण हितका लागि पहल गर्छ : शान्ता मानवी

काठमाण्डौ। मदन भण्डारी फाउण्डेशनले विगत केही समयदेखि  निरन्सतर रूपमा ञ्चालन गर्दै आएको ‘मदन भण्डारी छलफल’को नवौं श्रृङ्खला आज (शुक्रबार) आयोजना गर्‍यो। अनामनगरमा सम्पन्न आजको श्रृङ्खला जननेता भण्डारीको व्यक्तित्व तथा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त ‘जबज’ को प्रवर्द्धन, विकास र कार्यान्वयनमा टेवा पुर्‌याउने उद्धेश्यले आयोजना गरिएको सहजकर्ता रामशरण प्याकुरेलले जानकारी दिनुभयो । प्याकुरेल आयोजक फाउण्डेसनका सचिवालय सदस्य हुनुहुन्छ ।

छलफल श्रृङ्खलाकी मुख्य वक्ता एवम् पूर्व कृषि तथा पशु विकास मन्त्री शान्ता मानवीले  ‘जबज’ र सो सिद्धान्तका प्रतिपादक भण्डारीका जीवन शैलीबारे सहभागीहरूलाई रोचक प्रसङ्गहरू सुनाउनुभयो । उहाँ बनारस छँदादेखिनै नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह), मुक्तिमोर्चा समूहहुँदै नेकपा (माले) गठनताकादेखि जननेता मदन भण्डारीसँग सहकार्य गर्नेहरू मध्येकी एक नेताका रूपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा बोल्नुहुँदै नेता मानवीले जबज आम श्रमजीवी जनताको सर्वाङ्गीण हितका लागि ल्याएको विश्व दृष्टिकोण भएको दावी गर्नुभयो ।

‘यसले श्रमको अधिकतम उपयोग गर्दै श्रमलाई सीपसँग जोडेर विकासको प्रतिफल दूरदराजका जनतासम्म पनि पारदर्शीरुपमा हस्तान्तरण गराउने सोच बोकेको छ ।’ उहाँले भन्नुभयो ।

जननेता भण्डारी र उहाँसँग सम्बन्धित विभिन्न प्रसङ्गमा करिव डेढ घण्टा बोल्नुभएकी नेता मानवीले  भण्डारीलाई आकर्षक भाषणकलाका कारणले मात्रै नभई नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा इतिहासले स्मरण गरिरहेको उहाँले बताउनुभयो ।

बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई ‘जबज’ को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेकोमा छलफल श्रृङ्खलाकी प्रमुख वक्ता शान्ता मानवीले खुशी व्यक्त गर्नुभयो ।

भण्डारीको व्यक्तिगत स्वभावको प्रसङ्गमा उहाँले भन्नुभयो “सबैका कुरा समय दिएर कुरा सुन्नुहुन्थ्यो र गम्भीर भएर जवाफ दिनुहुन्थ्यो । रिसाएर कहिल्यै बोल्नुभएन ।”

सबैलाई मनाउन सक्ने खुबी भएका मदन भण्डारी वास्तवमै वैचारिक नीति भएका निस्वार्थ नेताकारुपमा आफूले चिनेको नेता मानवीले बताउनुभयो । त्यस्तै, उहाँले युवाहरुलाई रचनात्मक एवम् विकाशशील काम गर्दै जानुपर्ने सुझाव समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको दोश्रो खण्डमा प्रमुख वक्ता शान्ता मानवीले सहभागीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । २००३ सालमा अर्घाखाँची, सन्धिखर्कमा जन्मिएकी शान्ता मानवीले २०७३ साउन १९ गते कृषि, पशुपंक्षी विकासमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । २०५० सालमा त्रिशूली नदीमा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको रहस्यमय दुर्घटना भएपछि उहाँले लेख्नभएको “भेटिनेछन् मदन-आश्रित’ शीर्षकको कविता चर्चामा रहेको छ ।

शान्ता मानवीसँगको ‘मदन भण्डारी छलफल’को नवौं श्रृङ्खलालाई रेडियो श्वेत शार्दूलले प्रत्यक्ष प्रसारण समेत गरेको थियो । आयोजक मदन भण्डारी फाउण्डेसनले छलफल श्रङ्खलाका विचारहरूलाई पुस्तत र डिजिटल स्वरूपमा सार्वजनिक गर्ने जानकारी गराएको छ ।