जलवायु शंकट न्युनिकरणका लागि आदिवासी युवाको अग्रसरता अनिवार्य
काठमाडौं । जलवायु परिवर्तनका कारण आदिवासी जनजाति समुदायमा परेको असर न्यूनिकरणका लागि यवा पुस्ताको अग्रसरता अनिवार्य रहेको यस क्षेत्रका अभियन्ताहरूले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कोप २८ मा भाग लिएका नेपालका आदिवासी जनजाति प्रतिनिधिहरूको अनुभव सुनाउन फोरम फर इन्डिजिनियस गर्ल्स (फिग नेपाल) र अल इन फाउन्डेसन (एआईएफ) ले आज मङ्गलबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो ।
आयोजक फिग नेपालका अध्यक्ष सबनम लामाका अनुसार जलवायु परिवर्तन, वन तथा वातावरणीय संरक्षणका विषयमा आदिवासी समुदायका युवाहरूलाई सचेत गराउने उद्धेश्यले सामुहिक संवादको कार्यक्रम आयोजना गरिएको हो ।
त्यसैगरी अर्को आयोजक संस्था अल इन फाउन्डेसन (एआईएफ) की अध्यक्ष नेहा मल्लले आज सम्पन्न छलफलबाट भविष्यमा आयोजना हुने कोप बैठकहरूमा नेपालका आदिवासी समुदायका युवा पुस्ताको सहभागिता कसरी सुनिश्चित गराउने भन्ने विषयमा थुप्रै उपाय र सुझावहरू प्राप्त भएको बताउनु भयो ।
सो अवसरमा दुबईमा सन् २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर १३ सम्म सञ्चालित कोप २८ सम्मेलनको शुभारम्भ समारोहका वक्ता पेमा वाङ्मो लामाद्वारा प्रस्तुत सम्बोधन वाचन गरेर सुनाइएको थियो । सहभागीसँग आफ्नो अनुभव सुनाउँदै वाङ्मोले पृथ्वीको तापक्रम बढ्दै जानाले आदिवासीको सामुहिक अस्तित्व नै खतरामा परेको र भावी पुस्ताका निम्ति ढिला नगरी साझा सहकार्य गर्न आफूले विश्व समुदायसँग आव्हान गरेको अनुभव सुनाउनु भयो । वाङ्मो नेपाल आदिवासी महिला महासंघका कार्यक्रम संयोजक हुनुहुन्छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (निफिन) का वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, निफिनकै जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम निर्देशक टुङ्गाभद्र राई, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनएनडिपी) का जलवायु सम्बन्धि युवा अभियन्ता प्रतिमा खड्गी, आदिवासी महिला कानुनी सचेतना समूहका इन्दिरा श्रीस, आदिवासी जनजातिका लागि संयुक्त राष्ट्र संघीय स्वेच्छिक कोषका बोर्ड ट्रस्टी सदस्य देबकुमार सुनुवार र राष्ट्रिय आदिवासी महिला मञ्चका उपाध्यक्ष यसोकान्ति भट्टचन लगायतले आ आफ्ना अनुभव राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै आयोजक अल इन फाउन्डेसन (एआईएफ) का बोर्ड सदस्य अर्नब चौधरी र फीग नेपालका अकिना सिंह सुवालले कार्यक्रममा व्यक्त भएका कोप २८ सम्बन्धी अनुभव, विचार, दृष्टिकोण र सुझावहरूलाई समेटेर एक दस्तावेजका रूपमा प्रकाशन गर्ने योजना रहेको सहभागीहरूलाई जानकारी दिनुभयो ।