बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना डिसेम्बर १६ मा स्वदेश फर्किने

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आउँदो डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्कने बताउनुभएको छ ।

बङ्गलादेशमा यस दिन ‘विजय दिवस’ मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यही दिन बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले आज आफ्नो फिर्तीको मिति घोषणा गर्नुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय वायुसेवामार्फत आफ्नो फिर्तीको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

हसिनाले आफ्नो स्वदेश फिर्तीलाई एक राजनीतिक सन्देशका रूपमा प्रस्तुत गर्न खोजेको देखिँदा यो मिति निकै सोचविचार गरेरै रोजिएकोजस्तो देखिन्छ ।

यद्यपि बङ्गलादेशमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेकी हसिनाका लागि स्वदेश फर्कने बाटो भने निकै कठिन र चुनौतीपूर्ण देखिन्छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि हसिनाभारतमा निर्वासनमा रहँदै आउनुभएको छ ।

प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार घटनामा झन्डै १ हजार ४०० जनाको ज्यान गएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउनुभएको छ ।

हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गएको फेब्रुअरीमा भएको चुनावबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आउनुभएको छ ।