१०औँ राष्ट्रिय खेलकुद आजदेखि, औपचारिक उद्घाटन भने १६ गते गरिने
काठमाण्डौ । लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु हुन लागेको छ ।
प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा भएको छ । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेल हुनेछन् ।
जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन् । यो प्रतियोगिताको औपचारिक उद्घाटन यही १६ गते हुनेछ ।
तर त्यसअघि नै खेलहरु सञ्चालन हुन लागेका हुन् । १० औँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने छन् ।
त्यसबाहेक बर्दिया, सल्यान, रुकुम पश्चिम, दैलेख, कालिकोट र नेपालगञ्जमा पनि केही खेल हुने तय भएको छ । लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशको हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा खेल राखिएको छैन ।
धेरै प्रतियोगिताहरू सुर्खेतको रंगशालामा हुनेछन् । खेलको उद्घाटन र समापन सुर्खेतकै रंगशालामा हुनेछ । समापन यही मंसिर २७ मा हुने तय भएको छ ।

