काठमाण्डौ उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु
काठमाण्डौ । आजदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ ।
उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो ।
यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो ।
राजपत्रको सूचना अनुसार यो ऐन देशभरि तीन चरणमा लागु गर्ने कार्यतालिका तय गरिएको छ । जसअनुसार पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै स्थानीय तहमा ऐन लागु भएको हो ।
त्यस्तै दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यका बाहिरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तथा तेस्रो चरणमा आगामी वर्ष १ साउन २०८४ देखि देशभरिका बाँकी सम्पूर्ण गाउँपालिकामा यो ऐन कार्यान्वयनमा ल्याइने छ ।
नयाँ व्यवस्था अनुसार वधशालामा ल्याइएका पशुपन्छी वध गर्नुअघि अनिवार्य स्वास्थ्य परीक्षण (एन्टिमर्टम एक्जामिनेसन) गरिन्छ । परीक्षणबाट वधका लागि उपयुक्त र ‘स्वस्थ’ प्रमाणित भई विशेष चिह्न लगाइएका पशुपन्छीको मात्र वध गर्न पाइन्छ ।
वध गरिसकेपछि पनि मासु निरीक्षकले मासु खान योग्य छ वा छैन भनी स्वच्छता जाँच गर्छन् र योग्य ठहरिएको मासुमा आधिकारिक छाप लगाएपछि मात्रै उपभोक्तालाई बिक्री गर्न अनुमति दिइन्छ ।

