आज कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान देशका धेरै ठाउँमा मौसम सफा छ । महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौमा सबैभन्दा धेरै ३१.४ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै गोरखा, सिन्धुपाल्चोक र संखुवासभामा पनि हल्का वर्षा भएको छ । यस्तै आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भागमा आंशिक बादल लाग्ने मौसमविद्ले बताएका छन् ।

तराईको मौसम भने सफा छ । मौसमका जानकार उज्ज्वल उपाध्यायकाअनुसार आज काठमाण्डौ उपत्यकासहित तराई र अन्य ठाउँमा बिहान बाक्लो हुस्सु/कुहिरो लाग्नेछ । लामो यात्रा तथा बाली काट्ने/भित्र्याउने गर्न कुनै बाधा नरहेको उहाँले बताउनुभयो ।