आज हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डौ। आज देशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र तराईको मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहे पनि तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहनेछ । तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ । तिहारको अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

