अमेरिकाको मध्यावधि निर्वाचन : डेमोक्रेटिक पार्टीको दुवै सदनमा बहुमत

काठमाडौँ  । अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भएको हो ।

निर्वाचनको यो परिणामले राष्ट्रपति ट्रम्पले बाँकी दुई वर्षको कार्यकाल डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । चरम महँगीले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिविम्बित भएको छ । ८० वर्षीय राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गर्नुभएको छ तर उहाँले रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना, उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गर्नुभएको छ भने जर्जियामा केइसा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ । दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिलाई चुनौती दिने सम्भावना बढेको छ ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनी भने दिनुभएको छ । यसले आगामी दुई वर्ष अमेरिकामा राष्ट्रपति र संसद्बिचको राजनीति पेचिलो बन्ने सम्भावना बढेको छ । यद्यपि द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्विकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गर्नुभएको छ ।