प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभुराम थापाको उम्मेदवारी घोषणा
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा प्रभुराम थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्षमा निर्वाचित भए आगामी चार वर्षभित्र संगठनलाई एकताबद्ध, पारदर्शी, सशक्त र आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित उहाँले आफ्नो कार्ययोजना तथा प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
लामो राजनीतिक तथा सांगठनिक अनुभव, श्रमिक आन्दोलनमा सहभागिता र प्रवासमा सामाजिक सेवामार्फत स्थापित पहिचानलाई नेतृत्वको आधार बनाउनु भएका थापाले संगठनको अन्तर्राष्ट्रिय विस्तार, संस्थागत सुदृढीकरण र प्रवासी नेपालीका अधिकारलाई आफ्नो प्रमुख एजेन्डा बनाउनु भएको छ । लमजुङको साविक मोहोरीया, हाल राइनास नगरपालिका–९ मा वि।सं। २०२८ सालमा जन्मिएका थापाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले विभिन्न ट्रेड युनियन तथा सांगठनिक जिम्मेवारी सम्हाल्दै जिफन्ट राष्ट्रिय परिषद् सदस्यसम्मको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
सन् २००८ देखि अमेरिकामा राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय थापा सन् २०१३ मा प्रवासी नेपाली मञ्च अमेरिकाको पहिलो राष्ट्रिय अधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको थियो। सन् २०१७ को राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनले प्रवासी नेपाली मञ्च अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका संस्थापक सदस्यमध्ये एक रहनुभएका थापाले अमेरिका महादेश इन्चार्ज तथा प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । हाल उहाँ अन्तर्राष्ट्रिय कमिटीको उपसचिव तथा संगठन विभाग उपप्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।
थापाले अध्यक्षमा निर्वाचित भए नेपालमा प्रवासी नेपाली मञ्चको आफ्नै भवन खरिद गरी हाल भाडामा सञ्चालन भइरहेको कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गर्ने योजना अघि सार्नुभएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय, महादेशीय तथा राष्ट्रिय कमिटीहरूलाई सम्बन्धित देशको कानुनअनुसार दर्ता गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने र नियमित सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्वभर संगठनको सदस्यता विस्तार गर्ने, विभिन्न महादेश तथा देशमा सांगठनिक संरचना बलियो बनाउने र नयाँ पुस्तासहित विभिन्न पेसा तथा क्षेत्रमा आबद्ध प्रवासी नेपालीलाई संगठनमा जोड्ने उनको कार्ययोजनामा उल्लेख छ। प्रवासमा रहेका नेपाली श्रमिकको उचित पारिश्रमिक, रोजगारीको सुरक्षा, सामाजिक संरक्षण, सुरक्षित कार्यस्थल र सम्मानजनक श्रम अधिकारका विषयलाई थापाले आफ्नो प्रमुख एजेन्डा बनाउनुभएको छ ।
प्रवासमा आर्जित ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्ने, नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्ने तथा उद्यमशीलता र रोजगारी सिर्जनामा प्रवासी नेपालीको योगदान बढाउने विषयलाई पनि उहाँले कार्ययोजनामा समेट्नु भएको छ ।
त्यस्तै, विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली नयाँ पुस्तालाई नेपाली भाषा, कला, साहित्य र संस्कृतिसँग जोड्ने योजना पनि थापाले अघि सार्नुभएको छ। युवा नेतृत्व विकास गर्ने र संगठनको निर्णय प्रक्रियामा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उहाँको प्रतिबद्धता छ।
थापाको उम्मेदवारी घोषणासँगै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आगामी नेतृत्व चयन र संगठनको भावी कार्यदिशाबारे चासो बढेको छ।

