शैक्षिक प्रमाणपत्र अब हुलाक सेवामार्फत विद्यार्थीको हातमा पुर्‍याइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरू सम्म सुरक्षित रूपमा पुर्‍याइनेछ।

कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System (PITS) मा दर्ता गरिनेछ। यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगे/नपुगेको अनुगमन गर्न सहज बनाउनेछ।

कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवाहरूलाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो।

त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिभुवन विश्वविद्यालयको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्नुभयो।