गोली प्रहारबाट रौतहटमा २८ वर्षीय युवक घाइते

एजेन्सी । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा रौतहटमा एक युवक घाइते भएका छन् । गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक मंगलबार राति भएको घटनामा २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।

गोली लागेर घाइते भएका यादवको प्रादेशिक अस्पताल गौरमा उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।

गोली प्रहारको कारण र घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।