माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीमा रहेको रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस प्रकरणमा तत्कालनी मन्त्रिपरिषद्बाटै जग्गा सट्टापट्टासम्बन्धी निर्णय गराएर बिक्री गरेकाे आराेप छ । अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरेकाे छ ।
मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएकाे छ । त्यस्तै तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उहाँँको परिवारलाई विपक्षी बनाइएको छ ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा हिनामिना प्रकरणको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।

