हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाण्डौ । देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।