सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाग्यो
काठमाण्डौ । देशले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन कुल ऋणको ५३।१३ प्रतिशत हुन आउँछ ।
त्यस्तै कुल ऋणको ४५/५९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको तीन महिना अर्थात् असोज मसान्तसम्म मात्रै एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँ ऋण थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जसमध्ये सरकारले एक खर्ब रुपियाँ आन्तरिक ऋण र २३ अर्ब ३२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरिसकेको छ । चालु आवमा मात्रै सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
यससँगै ऋणको भुक्तानीलाई पनि निरन्तर दिइरहेको छ । असोजसम्म मात्रै करिब ९९ अर्ब रुपियाँ ऋण दायित्व भुक्तानी गरेको कार्यालयले जनाएको छ । जसमध्ये आन्तरिक ऋणबापत ८२ अर्ब ७४ करोड रुपियाँ भुक्तान भएको छ । यस अन्तर्गत पनि साँवाबापत ६५ अर्ब १० करोड र ब्याजबापत १७ अर्ब ६३ करोड रुपियाँ भुक्तानी भएको विवरण प्रतिवेदनमा छ ।

