बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, २९ जिल्लामा उच्च जोखिम
काठमाण्डौ । आगामी बिहीबारदेखि नेपालमा प्रवेश गर्ने मौसमी प्रणालीका कारण तीनदेखि चार दिनसम्म वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी जोखिमपूर्ण हुन सक्ने छ । उक्त प्रणालीसँगै अर्को पश्चिमी वायु प्रणालीसमेत सक्रिय रहेकाले नेपालमा भारी वर्षाको सम्भावना छ।
विभिन्न मौसम पूर्वानुमान मोडलले उक्त प्रणाली आगामी अक्टोबर २७ अर्थात् कात्तिक ११–१२ गतेतिर नेपालसम्म आइपुग्ने अनुमान गरिएको छ।
बागमती प्रदेशमा बढी वर्षाको सम्भावना
मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। चार दिनको अवधिमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने क्षेत्रहरूमा बागमती प्रदेशका धेरै स्थान रहेका छन्।
विशेषगरी मनाङ जिल्लामा पनि भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। यसअघि हिमपहिरोका कारण मानवीय क्षति भएको मनाङ क्षेत्रमा थप वर्षाले जोखिम बढाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
पोखरेलका अनुसार बंगालको खाडीबाट आउने प्रणालीसँगै नेपालमा पर्याप्त जलवाष्प भित्रिने र माथिल्लो वायुमण्डलमा विकसित अर्को ट्रफ प्रणालीले समेत वर्षालाई सहयोग पुर्याउने सम्भावना छ। नेपालका पहाडी तथा हिमाली भूभागका कारण पनि वर्षा थप तीव्र हुन सक्ने उनले बताएका छन्।
उनले अहिलेको पूर्वानुमानमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव देखिएको उल्लेख गरेका छन्। यद्यपि अन्य प्रदेशमा वर्षाको प्रभाव पर्न सक्ने उनको आकलन छ।
मौसम पूर्वानुमान समयसँगै परिवर्तन हुन सक्ने भएकाले जोखिममा पर्ने जिल्ला र वर्षाको मात्रा पनि फेरिन सक्ने पोखरेलले स्पष्ट पारेका छन्। उनले आगामी दिनमा पूर्वानुमान अद्यावधिक गर्दै जाने बताएका छन्।

