आज फूलपातिदेखि आउँदो बुधबार विजयादशमीसम्म मौसम मुख्यतः सफा रहने

काठमाण्डौ।  यसपालि दशैँको मुख्य दिन आज फूलपातिदेखि आउँदो बुधबार विजयादशमीसम्म मौसम मुख्यतः सफा रहने भएको छ । तर, हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण दशैँका केही दिन हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुन सक्नेछ । महाशाखाले सार्वजनिक गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार आज फूलपातिको दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ ।

देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ ।

हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

भोलि महाष्टमीका दिन हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ । हिमाली तथा पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै दशैँको टीकाका दिन आउँदो बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ । हिमाली तथा पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।